Friday, April 29, 2011

"प्रियसीको यादमा दुख्ने मुटु "

झुकाउनै परे शिर केवल झुकोस देशको लागि |
प्रियसीको यादमा दुख्ने मुटु दुखोस  देशको लागि |

तिमि मेरो जिन्दगि हौ अनि जीवन जिउने आधार
यस्तो बचन वाण हरु केवल फुकोस देशको लागि |

धोकेबाजको यादमा हर दिन तड्पीएर चैत लाग्दा
मुल्यवान आँशु हरु केवल सुकोस देशको लागि |

निष्ठुरी लाइ प्रेम गरि बिचमै धोका खानु भन्दा
मन भित्र माया-प्रेम केवल लुकोस देशको लागि |

प्रियसी लाइ नपाएमा बिष पिएर मर्छु भन्ने
प्रण अन्त्य गर्ने बाचा केवल चुकोस देशको लागि |

धोका पाउदा हात काटी रगत बगाउनु भन्दा
मेरा थोपा-थोपा रगत केवल सुकोस देशको लागि |
कुमार श्रेष्ठ

Thursday, April 28, 2011

ल्यापटप तथा मोबाइललाई वनस्पतिले चार्ज गर्ने कि ?

हालै प्रकाशित एक अनुसन्धान अनुसार वैज्ञानिकहरुले बजारमा पाईने रासायनिक व्याट्री कै
काम गर्ने जैविक व्याट्रीको विकास गर्न सक्षम भएका छन् । उक्त व्याट्रीको उत्पत्तिले ल्यापटप,
मोबाइल तथा अन्य विद्युतीय उपकरणहरु सोडा मिसाएको चिनीपानी वा वनस्पति घ्यूले पनि
रिचार्ज गर्न सकिने भएको छ ।
अमेरिकी रसायन समाजको २४० औं राष्ट्रिय सम्मेलनमा
University of South Louis, Missouri
का वैज्ञानिक डा. सेली मिन्टीरले उक्त उपकरणको विवरण दिंदै भन्नुभयो "यो
जैविक व्याट्रीले उत्पादन गर्ने विद्युतको प्राविधिक पृष्ठभूमि मानिस तथा अन्य जीवमा ऊर्जा
उत्सर्जित हुने विधिमा नै आधारित छ ।" उक्त व्याट्रीको पहिलो पटक सार्वजनिक प्रर्दशन गर्दै
डा. मिन्टीर अगाडि भन्नुहुन्छ । "यदि यो उपकरणलाई अझै परिमार्जित तथा विकास गर्न
सकियो भने हाल बजारमा पाइने साधारण तथा रिचार्ज गर्न मिल्ने व्याट्रीलाई विस्थापन गर्न
सकिन्छ ।"
जिवित प्राणीमा ऊर्जाको स्रोत अर्बौ संख्यामा हुने कोषका भित्री अंगहरु माइटोक्रोन्ड्रिया
(Mitochondria)
हुन् । यी माइटोकोन्ड्रियालाई कोषको शक्ति केन्द्रको रुपमा लिइन्छ । डा. मिन्टीर र उनका समूहले विकास गरेको जैविक व्याट्री पनि यही माइटोकोन्ड्रियाले उत्सर्जित गर्ने ऊर्जामा आधारित रहेको छ । माइटोकोन्ड्रियाले कोषमा संकलित खाद्य क्यालोरीलाई रसायनिक ऊर्जामा रुपान्तरण गर्दछ । सो प्रक्रियामा रसायनिक अवस्थामा रहेको चिनी,
बोसोलाई
Pyruvate
मा बदली
ATP (Adenosine triphosphate)
बनाउँछ, यही ATP नै कोषमा
ऊर्जाको अवस्था हो जुन प्राणीको शरीरलाई चाहिएको बखत ऊर्जाको रुपमा परिचालित हुन्छ ।
जीवहरुमा खाद्य वस्तुहरु जस्तै चिनी, बोसोबाट ऊर्जा उत्पन्न गर्ने यही विधि नै जैविक
व्याट्रीद्वारा ल्यापटप र मोबाइलमा इन्धन भर्ने सिद्धान्त हो ।
डा. मिन्टीरका अनुसार माइटोकोन्ड्रियाबाट निर्मित जैविक व्याट्रीमा माइटोकोन्ड्रियाको पातलो
तहलाई दुईवटा इलेक्ट्रोडको बीचमा राखिन्छ । यसरी राखिएको इलेक्ट्रोडहरुमा एउटा इलेक्ट्रोड वायु प्रवेश गर्न
सक्ने किसिमको हुन्छ । यसरी बनाइएको जैविक व्याट्रीमा जैविक इन्धनहरु
जस्तैः चिनी, बोसो वा अल्कोहल र अक्सिजन दिइयो भने यसले क्रमिक रुपमा विद्युत उत्पादन
गर्दछ । साधारण व्याट्री भन्दा फरक यस्ता व्याट्रीको चार्ज सकिदैन् । इन्धन र अक्सिजन
रहेसम्म जैविक व्याट्रीलाई रिचार्ज गरिरहनु पर्दैन ।
डा. मिन्टीर अगाडि भन्नुहुन्छ "यस किसिमको जैविक इन्धन व्याट्रीहरु नयाँ भने होइनन् ।
वैज्ञानिकहरुले प्रकृतिका प्राकृतिक सिद्धान्त अनुसरण गरी विभिन्न जैविक इन्धन व्याट्री बनाएका
छन् । " तर यसरी माइटोकोण्ड्रियाको प्रयोग गरी बनाइएको जैविक व्याट्री यो नै पहिलो हो ।
यसरी विकसित भएको जैविक व्याट्री ल्यापटप र मोबाइलको व्याट्री बाहेक पनि विभिन्न क्षेत्रमा
उपयोगिता हुन सक्ने देखिएको छ । विशेष गरी ताररहित तापक्रम सचेतक, चाल सचेतक,
गाडी तथा वाहन निगरानी राख्न् । यसै गरी लुकाइ राखेको विष्पोटक पदार्थ पत्ता लगाउन पनि
यसको उपयोग हुन सक्ने देखिएको छ ।


- रविन्द्र पाण्डेय
(विज्ञान लेखामालाबाट)
http://science-ans.blogspot.com/

Tuesday, April 26, 2011

गजल......

 
एकोहोरो रैछ मेरो माया दोहोरो भा'को भए
किन खोज्यौ हिसाब ऐले चोखो माया ला'को भए    

बदलिएकी छैन म तिमी आँफै मोडिदैछौ
गए हुन्छ बिदा दिन्छु उता धेरै पा'को भए 

नाना भाती कुरा तिम्ले गर्नु अब पर्या छैन  
हासी हासी स्वीकार गर अवसरै आ'को भए

गर्छौ अरे कुरा खुबै हिरा मोती मोटरका
देखाउ बही तिर्छु बरु कर्जा मैले खा'को भए

एकोहोरो रैछ मेरो माया दोहोरो भा'को भए
किन खोज्यौ हिसाब ऐले चोखो माया ला'को भए
डम्बर सुबेदी

कान्छी

 
कान्छीको पेट दिनानुदिन चुलिदै थियो । गाउँमा उसकै चर्चाका आँधीबेहोरीहरु चलिरहेका थिए । गाउँलेहरु प्रत्येक गुट र उपगुटमा विभाजित भएर उसकै आलोचना गर्नमा अभ्यस्त देखिन्थे । चियापसल, धारामा कान्छीकै विषयमा छानवीन गरिन्थ्यो जस्तो कि त्यहाँ कुनै अदालती इजलास चलिरहेको होस् । जहाँ एउटा अन्त्यहीन बहस चलिरहेको प्रतित हुन्थ्यो । आफ्नो आँखा अगाडि यस्ता घटित दृश्य देखेर म निक्कै मर्माहित बनेकी थिएँ । साँच्चै, कान्छी गर्भवति बनेकी थिई । ऊ अविवाहित थिई । कसरी पेट बोक्न सक्छे ? चर्चा चल्नु स्वभाविक नै थियो तर कान्छीको आर्तनाद कसले बुझिदिने ?

“बिचरी ! यो लाटीलाई कुन पापीले यस्तो गरिदियो ?”

“आम्मै ! कुन चै पापी होला त्यो ?”

“लाटी त हरामी नै निस्की नी ! रातभरि लोग्नेमान्छेसँग सुत्दीरैछे । के माया गारि’रा यस्तालाई”

“त्यै त ! झिँगे । रातभरि चर्दै हिँड्दी रैछे ।”

“बिचरीलाई के भनेको त्यस्तो ? अब कसरी बाँच्ली ?”

“कस्तो लाजमर्दो घटना देख्नुपर्छ यी आँखाले ।”

“ह्या ! यस्ती भालुको हाम्लाई के चासो ?”

प्रश्नहरुका रास प्रतिदिन बढ्दो थियो । उनीहरुलाई केही हेक्का थिएन कि कान्छी कस्तो अवस्थामा गुज्रदै थिई भनेर । कान्छी गाउँलेहरुको कुटिल व्यवहार देखेर आश्चर्यमा पर्दै थिई । बिचरी उसलाई पनि थाहा थिएन आफूमा कस्तो प्रकारको शारीरिक परिवर्तन भइरहेको छ ।
–०–०–०–
बाटुलो अनुहार, हिस्सी परेका चेहरा र लोभलाग्दो शरीरको बनावटले निक्कै राम्री देखिन्थी कान्छी । तर ऊ पूर्णरुपमा ठगिएकी थिई । ऊ बोल्न र सुन्न सक्तिन थिई । हाम्रो समाजमा यस्तो मान्छेलाई लाटालाटी भन्ने गर्छन् । ऊ हातको इशाराले आफूलाई संचार गराउथी । आफ्ना भावना र समवेदनाहरु हात र मुहारको माध्यमबाट सांकेतिक भाषामा व्यक्त गर्ने गर्दथी । यसकारण जोकोही उसको भाषा बुझ्न असमर्थ हुन्थ्यो । म उनको भाषा सहजै बुझ्न सक्थेँ किनकी यस्ता महिलाहरुसँग बसेर काम गरेको लामो अनुभव थियो ।
–०–०–०–
म श्रीमान्सँगै एक सरकारी कार्यालयमा लेखापाल भएर काम गर्दै आइरहेकी थिएँ । हामी सहरजस्तो गाउँमा बसोबास गर्दथ्यौँ । हाम्री एउटी छोरी थिइन्–आस्था । उनी भर्खर ४ वर्ष लागेकी थिइन् । सरकारी कार्यालयको काम यस्तै हो हाम्रो इच्छाअनुसार केही हुदैन थियो । सबै माथिकै आदेशअनुसार चल्नु पर्दथ्यो । यस्तै परिस्थितिले गर्दा हामी जहाँ सरुवा हुन्छ त्यही कोठा खोजेर बस्नु पर्ने बाध्यता थियो ।

यस्तो कुरा त सामान्य नै मान्नुपर्छ । यद्यपी यहाँ म अर्को सभ्यता उल्लेख गर्न गईरहेकी छु । मलाई त्यो गाउँ एकदमै उदेकको लाग्ने गर्दथ्यो । एउटा सानो कुरा चुहावट भयो भने सारा गाउँ नै फैलिसक्थ्यो । जसरी एउटा सेतो कपडामा मसी पोखिएर स्वरुप बिग्रन्छ । त्यो एकदमै गन्धा भएर बाहिर आउने गर्दथ्यो । अधिकांश लोग्नेमान्छेहरु कमाउन खाडीमुलक गएका थिए । गाउँका आइमाईहरु घरायसी काम गरेपश्चात फुर्सदिला हुन्थे र सबैजना एकै ठाउँ भेलाभएर गफगाफमा रमाउने गर्दथे । अर्काको कुरा काट्नैमा हर्षित हुन्थे । कुराको सत्यता नापतौल नगरिकन हचुवाको भरमा आफ्नो समर्थन र विरोध जनाइहाल्थे ।
बेलाबेलामा बेतुकको राजनीतिक गफ पनि सुनिन पाइथ्यो । तर्क शक्तिमा बल नभएका उनीहरु अवास्तविक तथ्यमा कराई रहन्थे । यस्तो फजुल संवाद सुनेर मेरो कन्पारो तात्ने गर्दथ्यो । किनकी भान्साबाट ती कुराहरु सहजै कानमा पर्ने गर्दथे । मलाई थामीनसक्नुको हुन्थ्यो । कैयनचोटि श्रीमानलाई “कस्तो ठाउँमा सरुवा भयो । यहाँको समाजमा हाम्रा बालबच्चाहरु पनि बिग्रने भए” भनेर नमीठो पोख्थेँ । वहाँ पनि हैरान भैसक्नुभएको थियो । वहाँका साथीहरु घरमा भेट्न आएका बेलामा गाउँलेका तीनपाथी कोकशास्त्रका आमाचकारी शब्दहरु सुनेर फर्कन्थेँ । वहाँ निराश हुँदै भन्नुहुन्थ्यो, “सानु, यो विकट गाउँमा बस्नु मेरो पनि रहर होइन ? कर्मचारीहरुलाई शान्तिसुरक्षाको प्रत्याभूति पनि छैन । यहाँबाट बर्हिगमन हुन हाकिमहरुलाई सेवाढोग गरिसकेँ तर पनि क्यै नहोला जस्तो छ । यहाँ शहर बस्दैछ । विस्तारै सबै ठिक होला नि ! धैर्य गर ।”
–०–०–०–
कान्छी हामी बसेको कोठा सम्मुख खण्डहर जस्तो घरमा बस्ने गर्दथी । त्यो घर खाली थियो । घरका मालिकहरु थिएनन् । ऊ त्यही आएर बस्न थालेकी थिई । जनयुद्धताका माओवादीको विध्वंसबाट आजित भएर उनीहरु बसार्इँ सरेका थिए । शान्तिसम्झौता भएपश्चात कब्जा गरिएको घरजग्गा फिर्ता हुने आशले घरमालिक एकचोटी देखा परेको थियो । तर त्यससमय कान्छीलाई आफ्नो घरमा देखेर पार्टीले राखेको हो कि भन्ने भ्रमले कुलेलम ठोकेको थियो ।
कान्छीलाई जीवन निर्वाहका लागि कुनै चिन्ता थिएन । ऊ नबोलेरै पीठो बिकाउन सक्षम थिई । हातको इशाराले, “म तपाईको भाँडा माझिदिन्छु, लुगा धुइदिन्छु । मलाई एकछाक खाना दिनुहोस्” भनेपछि नाइँ नभन्ने कोही पनि थिएनन् । ऊ गाउँभरिका चौरासी व्यञ्जनको स्वाद चाख्न पाईहाल्थी ।
–०–०–०–
एकविहान मलाई अफिस जान असाध्यै विलम्ब भैसकेको थियो । बाथरुममा एकआरी लुगाहरु भिजिरहेका थिए । जुठा भाडावर्तनहरु बाहिर घाममा कट्कटिएको थियो । लेखा प्रतिवेदन बनाउँदै थिएँ । छिट्टै तयार गरेर हाकिमलाई पेश गर्नुपर्ने थियो । उता श्रीमान् सखारै उठेर अफिसतर्फ लाग्नुभएको थियो । फुर्सद भएको बेला मलाई भान्सामा सघाउनुहुन्थ्यो तर श्रीमान्ले काम गरेको देख्न मनैले मान्दैनथियो । केही अराउदिन थिएँ वहाँले बुझेरै सहयोग गर्नुहुन्थ्यो । विगत महिनादेखि हाम्रो दैनिक क्रियाकलाप अस्तव्यस्त भएका थिए । मलाई अफिस भ्याउन असाध्यै ढिलो हुन्थ्यो । अझ छोरीलाई स्कूलको लागि तयार पार्दा ११ नै बज्ने गर्दथ्यो । म एक्लैले के–के पो भ्याउनु र ?
म बाहिर निस्किएको बेला उसले “म काम सघाइदिन्छु तपाई मलाई खाना दिनुहोस्” भनेर इशारा गरेकी थिई । मैले त्यो अनुरोधलाई सहर्ष स्वीकार गरेकी थिएँ । मलाई एकप्रकारको देउता मिलेको महसुस भएको थियो ।

ऊ सखारै उठेर मेरो घर आउँथी । म चिया बनाएर श्रीमान् र उसलाई पिलाउथेँ । ऊ जुठा भाँडा, मैला परेका तन्ना, सिरक र सिरानीको खोल, हाम्रो मैँला लुगाफाटाहरु धुने काम सजिलै सम्पन्न गर्दथी । मैले खाना बनाई सक्दा ऊ सम्पूर्ण काम सकेर छोरीलाई स्कूल जानका लागि ‘रेडी’ बनाइसकेकी हुन्थी । मेरो चारवटा हात थपिएकोझैँ भएको थियो । उसको उपस्थितिले विहानीको अखबार पढ्न समेत भ्याउन थालेकी थिएँ ।
कान्छीले हाम्रो मन जितेकी थिई । कान्छीको अनुपस्थितिमा हाम्रो घर शून्य हुन्थ्यो । हाम्रो घरको रुपाङ्कन स्वरुपहीन हुन्थ्यो । श्रीमान्को पहलमा मैले उसलाई महिनाको ४ हजार तलब दिन थालेकी थिएँ । बेलामौकामा मेरा पुराना धोतीचोली, म्याक्सी र कुर्ता सुरुवालहरु पनि लगाउन दिने गर्दथेँ । हाम्रो सुक्ष्म सहयोगबाट ऊ हर्षित देखिन्थी ।
उसको दिमागको सरहना गर्नैपर्छ । हामीले मासिक दिएको रकमले उसले आफ्नो घरमा सामानहरु भर्न थाली । भाडावर्तन र कचौराका सेटहरु किनी ल्याउन थाली । क्रमागत रुपमा ऊ हाम्रो घरमा खाना खान पनि आउन छाडी । ऊ आफ्नै घरमा पकाएर मीठोमसिनो खाने गर्दथी । हाम्रा घरमा विशेष परिकार पाक्दाको समय उसलाई आमन्त्रण गर्ने गर्दथ्यौँ । घरमा आफ्नो लागि खाना नबनाउन र आज हामीसँगै खान आग्रह गर्दथ्यौँ ।

यसरी कान्छी जीवन सुखदुःख व्यतित गर्दै आइरहेकी थिई । म एकदमै खुशी बनेकी थिएँ किनकी उसको मिजासिलो व्यवहार र सहयोगबाट हाम्रा टाउको दुखाइहरु सधैँका लागि मत्थर भएका थिए ।
–०–०–०–
म अचम्ममा पर्न थालेकी थिएँ । कान्छीको क्रियाकलापहरुप्रति शंका उब्जिन थालेको थियो । ऊ दिनानुदिन परिवर्तित हुदैँ गइरहेकी थिई । जसरी मौसम परिवर्तन हुन्छ । ऊ दुई औँलाको बीचमा अर्को औँलो छिराएर देखाउथी र “ही..ही..ही” शब्द उच्चारण गरेर अट्टहास रुपले हाँस्ने गर्दथी । यसको मतलब “तिम्रो श्रीमान्सँगको सहवास कस्तो हुन्छ ?” भन्ने थियो । मैले पछिमात्र बुझेकी थिएँ । मलाई एकदमै हाँस उठेको थियो । धेरैपटक इशारामा सम्झाएकी थिएँ, “यस्तो गर्नु फोहारी काम हो । जसलाई पायो त्यसलाई यस्तो देखाउनु हुन्न । मान्छेले फटाही भन्छन् ।” तर ऊ खै कति बुझ्थी ? अझै पनि उसको क्रियाकलापमा परिवर्तन आएन । ममाथि एउटा डर सवार हुन्थ्यो, “कतै उहाँलाई त यस्तो संकेत गरिन ?” म घण्टौंघण्टा सोच्न बाध्य भएकी थिएँ । अखिर यसको मतलव के हो ? आखिर के भन्न चाहिरहेकी छे ऊ ? आफैँलाई लाज लागेर आउँथ्यो, “छ्या कान्छी ! के गरेकी त्यो ?”
–०–०–०–
कान्छीले पेट बोकेको खबरले गाउँमा झ्याली पिटेको थियो । अथवा, पिटाइएको थियो । सर्वत्र कान्छीकै चर्चा सुनिन्थ्यो । गाउँलेहरु मलाई भेट्नै बित्तिकै सोध्ने गर्दथे, “तिम्री कान्छीले त भूँडी बोकिछे नि ? उसको बिहे कहिले भयो ?”
बिस्तारै गाउँलेहरुले मलाई र कान्छीलाई जोडेर अनेकौं लाच्छनाहरु लगाउन थाले । मलाई बाटो हिँड्नै मुस्किल पर्न थाल्यो । कान्छी मेरो घरमा काम गर्ने केटी हो तर यसको मतलब म उसको ठेकेदार त होइन नी ? मान्छेहरुलाई केही चाहिदैन अरुको पतन गराउन । एउटा याम नै पर्खेर बसेका हुने रहेछन् । अनायासै मेरो दिमागले बौद्धिक तर्क गर्न थालेको थियो ।
मैले एनजिओ÷आईएनजिओमा कार्यरत साथीहरुलाई खबर गरेँ । उनीहरु महिला तथा बालबालिकाका सवालमा रहेर काम गर्ने गर्दथे । तर पनि केही लागेन । हरेकपटकको सोधपूछमा ऊ चुप रहन्थी । उसलाई त्यस्तो प्रकारको सवालमा इशाारा गर्न नै असम्भव थियो ।
–०–०–०–
कान्छीको बारेमा सोचिरहनाले मलाई निद्रा पर्न छोड्यो । श्रीमान्ले सम्झाउँदै भन्नुहुन्थ्यो, “सानु, कति मन खेलाको ? अब त सुत । क्यै हुन्न के !” कान्छीलाई आफ्नो ठाउँमा राखेर विश्लेषण गर्छु । हरपल पीडाबोध भइरहन्छ ।
“मैले प्रथम पटक बलिष्ठ पुरुषको बाहुपासमा समर्पित हुदाँ भएको सुखद पललाई इन्कार गर्न सकिनँ । मेरा अतृप्त यौनतृष्णा उत्तेजित भएर मूतिवत् भैदिएँ । मेरा असीम रहरहरुलाई उसले चलायमान गरिदियो । किनकी म पनि चलायमान हुन चाहन्थेँ । के मजस्ती लाटी वा शारीरिक अपाङ्गगता भएकाहरुले आफ्ना रहरहरु दबाएरै राख्नुपर्छ भन्ने नै छ र ? म र अरु स्वास्नीमान्छेमा के चाहिँ फरक छ र ? के म यौनको सुखभोग गर्न नपाउने ? तसर्थ मैले पोखिदिए जीवनका रङ्गीन रङ्गहरु । म स्वेच्छाले भँमराको कैदमा परेँ । ऊसँग समर्पित भएँ । चरम आनन्दको यानमा दौडिएँ । कसले के गर्छ ?” ममाथि कान्छी प्रकट हुन्थी । मेरा मनमस्तिष्कले यन्त्रवत् यी वाक्यांशरु अलाप्न थाल्थे । श्रीमान्ले म त्यसरी बेहोशीमा बर्बराएको सुनेर उठाउनु हुन्थ्यो । म पसिनैपसिनाले भिजेकी हुन्थेँ । त्यसपछि म निदाउँनै सक्दिन थिएँ ।
आखिर जे भएपनि यसरी उसको अशक्तताको फाइदा उठाउने अधिकार कुनै पनि पुरुषलाई छैन । को हो त्यो पुरुष ? जसले यस्तो चक्रब्यूहको रचना ग¥यो ! को हो त्यो पुरुषले जसले कान्छीलाई कैदमा पा¥यो ? मेरो हृदय रणभूमिमा परिणत भयो । पटक–पटक निदाउन प्रयास गरेँ । तर अहँ, आँखाहरु जार्गाम बसिरहे । हरपल यौटा अदृश्य नियतिले डसीरह्यो ।
–०–०–०–
बिस्तारै परिस्थिति सामान्य हुदैँ गयो जसरी तुफानपछि शान्त हुन्छ । मान्छेले नियतिलाई कहिले पो रोक्न सक्छ र ? जुन भएर छोड्छ । मैले पनि हल्का राहतको मुहसुस गरिरहेकी थिएँ । गाउँलेका मुखहरु चुप थिए । कतिञ्जेल धाँमी भएर बक्न सक्छन् र ! कान्छी दिन गनेर बसिरहेकी थिई । हामीले फेरी उसलाई सक्दो सहयोग ग¥यौँ । वहाँले पनि मलाई हौस्याइरहनुभयो ।

मैले उसलाई काम लगाउन छोडेँ । उसलाई “यस्तो बेलामा काम गर्नुहुन्न । आराम गर्नुपर्छ” भनेर सम्झाएकी थिएँ । उसलाई निरन्तर सहयोग गरिरहेँ । घरमा पाकेका पोषिला भोजनहरु उसको घरमा पु¥याउने गर्दथेँ । गाउँका केही भद्र महिलाहरुले पनि उनलाई सहयोग गर्न थाले ।
–०–०–०–
एकरात बाहिर एकदमै चिसो थियो । चिसो हावा चलिरहेको कारण झ्याल ढोका लगाएर सुतिरहेकी थिएँ । बाहिर भयावह अन्धकार थियो । बाक्लो गरेर ढुस्से लागिरहेको थियो । मैले एउटा अनौठो चित्कार सुनिरहेकी थिएँ । रात ओसिलो भएकाले आवाज प्रष्टै चिनिन्थ्यो । कान्छी वेदनामिश्रित आवाजले कराइरहेकी थिई ।

उसलाई वेथा लागिरहेकोजस्तो देखिन्थ्यो । म तुरुन्तै उसको कटेरातर्फ हानिएकी थिएँ । उसले लगाएको म्याक्सी रगतपच्छे भएको थियो । मैले तुरुन्त अनुप्मा दिदीलाई फोन गरेँ । उहाँ आएर सबै समस्याको समाधान भयो । लामो समय नर्सिङ्ग सेवा गरेको अनुभव थियो वहाँमा । गाउँका अरु महिलाहरु पनि ग्वारग्वार्ति उसको कटराभित्र पस्न थाले । करिब साढे २ घण्टापछि उसले एउटा छोरालाई जन्म दिई । छोरा एकदमै गहुँगोरो र मङ्गोलियन वर्णको थियो । गाउँमा “लाटीले छोरा पाई” भन्ने खबर कतिखेर फिजिएछ । उसको बच्चा हेर्नेको भीड थामिनसक्नुको भयो । कान्छी भित्तामा अडेस लागेर सेता दाँत देखाउँदै हाँसिरहेकी थिई । उसको अनुहारभरि वात्सल्य प्रेम र ओठभरी सन्तुष्टी पोतिएको थियो ।
–०–०–०–
ऊ कान्छी नै थिई ! म उसलाई कहाँ बिर्सिन सक्छु र ! अहँ सक्दिन ! हिजो बाटोमा उसको स्थिति एकदमै भयावह देखेँ । कपाल जथाभावी फिजारेर चिन्नै नसक्ने मुद्रामा देखिन्थी । उसको कुर्ता ठाउँठाउँमा च्यातिएका थिए ।
कान्छीको छोराभएको हप्तादिनपछि हामी त्यो ठाउँमा नबस्ने निधो ग¥यौँ । राजनीतिक दललाई भनसुन गरेर सरुवा भइ पूर्वाञ्चलको सहर इटहरी आइपुग्यौँ । त्यसपछिका दिनमा कान्छी कसरी बसी हामीलाई थाहा भएन । नौलो ठाउँ र कामको व्यस्तताले त्यतातिर ध्यानै दिइएन । तर म बारम्बार कान्छीलाई सम्झीरहेकी हुन्थेँ । आजकल घरायसी काम गर्न एउटी दुःख पाकी केटीलाई राखेकी छु । ऊ विहानभरी मलाई काममा सघाउँछे र दिउँसो स्कूल जान्छे ।
अस्ती काम विशेषले कान्छीको गाउँ गएकी थिए । तर त्यहाँको सम्पूर्ण वातावरण परिवर्तित भइसकेछ । ऊ बस्ने घरमा ठूल्ठूला विल्डिङ्गहरु बनिसकेछन् । हामी बसेको त्यो सानो गाउँ यतिखेर सहर बनिसकेछन् । मान्छेहरु पनि सहरिया बनिसकेछन् । मलाई कसैले पनि चिन्न सकेनन् । त्यहाँका रैनाथे बासिन्दाहरु सबै बसाईँ सरिसकेछन् । कान्छीको बारेमा सोधपूछ गरे, उसको वतन पत्ता लगाउन सकिन । कसै–कसैले हामी हिँडेपछि बच्चासहित हिँडेको भन्ने कुरा मात्र थाहा पाएँ ।
ऊ उसलाई हेरिरहन्छु । ऊ चुपचाप बर्बराइरहन्छे । उसको काखमा छोरा थिएन । उसको छोरा खोई ? कसले खोसेर लग्यो ? अब यी प्रश्नका उत्तर कहिल्यै नआउने भए । उसको स्मृतिपटमा भएको ‘म’ पनि मेटिइसकेछु । मैले उसलाई एक पुरिया बिस्कुट र दूध किनेर दिएँ । उसले मेरो बिस्कुट हातबाट बाघले शिकार झम्टीए जसरी खोसेर खानथाली ।
दूध बिस्कुट एकै सासमा सकेपछि ऊ अर्को चटक देखाउ थाली । आफ्नो च्यातिएको कुर्ताबाट गुप्ताङ्ग देखाउँदै हातलाई कावा खुवाउन थाली । उसको गुप्ताङ्गगले च्यातिएको लुगाबाट संसार हेर्दै थियो । केही पुरुषहरु उसको नजिक भएर बाटो काट्दै थिए । छड्के आँखाले केही देख्न सकिन्छ कि भनेर गर्वसाथ अन्जापनको ढोङ रच्दै हिँडेको अनुमान लगाउन सकिन्थ्यो । केही आईमाईहरु चाहिँ आफ्ना पुरुषहरुलाई ऊ भएतर्फ जान नदिई बाटो मोडाएर हिँडाउथे । मलाई यस्तो लाजमर्दो घटनाको साक्षी हुनुपर्दा लज्जाबोध भयो । मैले उसलाई आफूसँग भएको बर्को ओढाइदिएँ तर उसले त्यो बर्कोलाई तुरुन्तै हटाई । ऊ त्यो बर्कोले आफ्नो लाज ढाँक्न चाहन्न थिई । ऊ समाजलाई मौन व्यङग्य गर्दै थिई । उसले जीवन र लाजको परिभाषा दिदैँ गरेको प्रतित हुन्थ्यो । देख्ने सुन्नेले धेरै तरिकाले बुझलान्, तर्क गर्लान् तर मैले यही आँखाले देखेकी छु कान्छीको जीवन र लाज । समाज विकासको सुरुवात देखि यसरी नै निर्धाहरु पिल्सिरहेका छन् ।
रमेश नताँस
 

Monday, April 25, 2011

नदी सरी मेरा आसुँ


नदी सरी मेरा आसुँ बग्दा खेरि पनि तिमी|
हेरि रह्यौ उभिएर मुर्ति जस्तै बनी तिमी | 

जिन्दगीमा कति दियौ चोटै मात्र सधैँ भरि
सक्छौ भने आफै सम्झी हेर न त गनी तिमी|

दु;ख सुख सघर्षमा पाएको त्यो मेरो साथ
बिर्सिएछौ क्यारे तिम्ले सोच्यौ एक्लै धनी तिमी |

खुकुरीको चोट मात्र अचानोले बुझेको छ
नभन भो अझै मेरो गल्ती छैन भनी तिमी|

दुनियाँको अगाडी त देउता झैँ बन्दै हिड्छौ
मेरा लागी भयौ किन? बिग्रिएको शनि तिमी |

-रिमा साइराम (सापकोटा)

पागल

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु ढुङ्गालाई फूल !
जब जल-किनारका जल-चिप्ला ती
कोमलाकार पाषाण
चाँदनीमा
स्वर्गको जादूगर्नी मतिर हाँस्दा
पत्रिएर नर्मिएर झल्किएर
बल्किएर उठ्दछन् मूक पागलझैं
फूल झैं एक किसिमका चकोर-फूल !
म बोल्दछु तिनसँग जस्तो बोल्दछन् ती मसँग
एक भाषा साथी !
जो लेखिन्न छापिन्न बोलिन्न
बुझाइन्न सुनाइन्न !
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छालछाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ बाचाल
तिम्रो शुद्ध गणित-सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु !
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ
म उसमा हेलेन र पद्यिनी पाउँछु
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्दन्छु
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु
र ठीक त्यसैको उल्टो !
तिम्रो संसार ठोस छ !
मेरो बाफ !
तिम्रो बाक्लो मेरो पातलो ! तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ
म भन्छु वाचाल !
जरुर साथी !
मेरो एक नशा ढीलो छ ।
यस्तै छ मेरो हाल !
म माघको ठण्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ
दुनियाँले मलाई तरतरङ्गी भने !
भस्मेश्वरबाट फर्कदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने !
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिलो छिर्का परेको देखेर
म तीन दिन रुँदा
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने !
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा
बहुला भने !
एक सुनसान औंसीले मलाई निशास भएर
म प्रलय-वेदनाले उफ्रें !
मूर्खहरुले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे !
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ
मलाई बुज्रुगहरुले
राँची पठाइदिए !
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ
एक साथीले बेसरी चिमटिदिए
र भने “ए पागल तेरो मासु अझ मरेको छैन !”
यस्ता कुरा भए साल साल !
पागल छु साथी !
यस्तै छ मेरो हाल !
मैले नवाबको मदिरालाई खून भनेको छु
छिपेकी रण्डीलाई लाश भनेको छु !
राजालाई गरीब
सिकन्दरलाई मैले गाली दिएको छु !
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई तर
सातौं आसमानसम्म
तारीफको पुलमा चढाएको छु
तिम्रा महापण्डित मेरो महामूर्ख !
तिम्रो स्वर्ग मेरो नरक !
तिम्रो सुन मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति मेरो अवनति
यस्तै छ मोलमोलाइको उलट-पलट
साथी !
तिम्रो विश्व मेरो बाल !
जरुर साथी ! म बिलकुल चन्द्राहत छु
चन्द्राहत
यस्तै छ मेरो हाल !
म अन्धालाई दुनियाँको अगुवा देख्दछु
गुफा-तपस्वीलाई भगुवा देख्दछु
मिथ्याका मात चढेकालाई
काला नटुवा देख्दछु !
विफललाई सफल देख्दछु !
प्रगतिलाई अगति देख्दछु !
या हुँला मै ऐँचाताना !
या हुँला मै दीवाना !
साथी ! मै दीवाना !
निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर !
जन-अधिकारको डँडाल्नोको भाँच हेर !
जब भँगेर-टाउके छापाको कालो मिथ्याले
मेरो विवेक-वीरलाई
जाली झुठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केको गोलझैं राता !
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ
पिउँछ कानले
र अमृत भनिठानेर
र मेरा आँखाअगाडि साथी !
तब हुन्छन् ठाडा मेरा रौं रौं
गर्गनका सर्पकेश झैं मेरा जिस्क्याइएका
रौं रौं !
जब बाघले मृग खान आँटेको देख्छु साथी !
या ठूलो माछाले सानो
तब मेरा मर्काएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर बोल्न खोज्दछ साथी !
तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा
दुवै !
जस्तो भीमसेनका दाँत !
अनि
प्रकोपको लाल-लाल आँखाका डल्ला
फनक्क घुमाएर एक डबलले म
यो अमानवको मानवजगत्लाई
एक आगोको लप्काले झैं हेर्दछु साथी !
उफ्रिन्छन् मेरा कलपुर्जा
खलत्रल खलबल !
तूफान हुन्छ मेरो सास !
विकृत हुन्छ मेरो चेहरा !
बन्दछ मेरो दिमाग साथी !
बडवानलझैं बडवानलझैं !
म वन खाने आगो झैं बहुला हुन्छु !
बहुला साथी !
काँचै निलूँ झैं विश्वविशाल !
जरुर साथी !
म सुन्दर-चकोर असुन्दर-फोर !
कोमल-क्रूर
चिडिया स्वर्गाग्नि-चोर
तूफान-पुत्र !
पागल ज्वालमुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल !
जरुर साथी !
सन्के मगज छु सन्के !
यस्तै छ मेरो हाल !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ
ठोस कठोरता तिम्रो यथार्थ छ !
म सपनालाई समात्न खोज्दछु
जस्तो तिमी त्यो चिसो मीठो अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई !
मेरो छ बजे काँढाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ
म भन्छु वाचाल !
जरुर साथी !
मेरो एक नशा ढीलो छ ।
यस्तै छ मेरो हाल !
महाकबी
लक्ष्मी प्रसाद देवकोटा
 

Sunday, April 24, 2011

गजल-३१

जहाँ फुलें त्यहीँबाट झर्न चाहन्नँ
देशको ऋण नतिरेर मर्न चाहन्नँ

जस्तो डाली त्यस्तै फूल तर फुल्छु म
लोभिएर अर्कै डाली सर्न चाहन्नँ

विचार मेरो संपत्ती हो यस्मै रम्छु म
भोकै हुँला तर घाँस चर्न चाहन्नँ

सीमानामा ढुङ्गा भन्छन् आमा देख्छु म
आमा बेच्ने खुनी व्यापार गर्न चाहन्नँ

मान्छेभन्दा माथि कुनै प्राप्ति हुँदैन
खोला सम्झी तातो रगत तर्न चाहन्नँ

ढुक्ढुक गर्छ ढुक्ढुकीले सत्य समाचार
न्याय कुल्ची अन्यायमा पर्न चाहन्नँ

वादविवाद बोली भाषण मेरो सर्वस्व
बोल्नेमाथि कैल्यै दागा धर्न चाहन्नँ

यो उर्वरा धर्ती मेरो शस्यश्यामला
दुवो सार्ने भुइँमा नून छर्न चाहन्नँ

ओलाङ्चुङ र टिङ्कर भञ्ज्याङ चर्चर चिरेर
काठमाण्डौको घ्याम्पे पोल्टो भर्न चाहन्नँ
नवराज लम्साल
रेडियो नेपाल