तपाईंले भँगेरा देखेको कति भयो? सायद धेरै नै। घरका बार्दली र कौसीमा छरिएका अन्न टपक्क टिप्ने र चिरबिर चिरबिर आवाज निकाल्ने यो मसिनो चरो हराउँदै गएको छ।
मोबाइल फोन भँगेराको संख्या घटाउन मुख्य जिम्मेवार देखिएको छ।
मान्छेसँग नजिकिएर बाँच्न चाहने यो चरा घट्दै गएपछि वर्षमा एक दिन यसैको संरक्षणबारे चिन्ता गर्दै 'विश्व भँगेरा दिवस' मनाउन थालिएको छ। आइतबार यो दिवसका बेला अन्यत्र थुप्रै कार्यक्रम भए पनि नेपालमा कुनै चिन्ता प्रकट गरिएन।
सहरी क्षेत्रको प्रदुषण, बढ्दो विषादीको खपत र यसको बासस्थान नासिनुका साथसाथै मोबाइल फोनका टावरहरू यसको संख्या घटाउन मुख्य जिम्मेवार देखिएको तथ्य त्यस अवसरमा सार्वजनिक भएका छन्।
मोबाइल फोनलाई उपग्रहसँग जोड्ने 'इलेक्ट्रो म्याग्नेटिक रेडिएसन' भँगेरा विनाशको मुख्य कारण हो। बेलायतको ब्रिस्टल विश्वविद्यालयमा गरिएको एक परीक्षणबाट यस्तो विकिरणले भँगेराको उड्ने बेलामा दिशा ठम्याउने शक्ति र यसको अण्डा कोरल्ने प्रकृया दुबैलाई प्रभाव पार्ने गर्छ। यसले जीवित भँगेराको बाँच्ने आधार र यसको प्रजनन् दुवैलाई प्रहार गरेपछि भँगेराको अस्तित्व खतरामा पर्न थालेको हो।
बेल्जियमको 'रिसर्च इन्स्स्टिच्यूट फर नेचर एण्ड फरेस्ट'ले त अनुसन्धानपछि तोकेरै भँगेरा घट्दै जानुको मुख्य कारणमा मोबाइल फोनका तरंगहरूलाई औंल्याएको छ। उसका अनुसार सहरी क्षेत्रमा मौरीको संख्या घट्नुका कारणमा पनि भँगेरा जस्तै मोबाइलको विकिरण दोषी छ।
'केहीयता नेपालमा भँगेराको घट्दो संख्या महसुस हुन थालेको छ,' पन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत हुमबहादुर गुरुङ भन्छन्, 'प्रकृति संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आईयुसिएन)ले यसलाई वर्गीकरण गर्दा खतराको सूचीमा नराखेकैले संरक्षणमा हामीकहाँ बढी चिन्ता देखिएको छैन।' गुरुङका अनुसार त्यसैले गर्दा पनि आइतबार सारा विश्वले यो १५ सेन्टीमिटर आकारको चराको भविष्यबारे चिन्ता लिइरहँदा नेपालमा यसको वास्तै भएन।
बेलायतको 'रोयल सोसाइटी अफ प्रोटेक्सन अफ वर्डस्'ले अध्ययनपछि यो चरालाई लोप हुनलागेको प्रजातिमा राखिसकेको छ। छिमेकी भारतमै पनि हालै आन्ध्र विश्वविद्यालयले गरेको अध्ययनपछि यो चराको संख्यामा ६० प्रतिशतले कमी आएको पाइएको छ।
सहरी क्षेत्रको विस्तारका क्रममा यस्ता घरेलु चराहरु कसरी जोगाउन सकिन्छ भन्ने हिसाबले भवनका डिजाइन र आवास क्षेत्रको परिवेश तयार पारिनु पर्ने सुझाव गुरुङको छ। 'बिजुलीको हाइटेन्सन लाइन नजिकैको तरङ्गले पनि उड्दै गरेको चरा मर्न सक्छन् भन्ने थाहा छ,' दूर सञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल भन्छन्, 'त्यसका आधारमा मोबाइलको बेस स्टेशनको तरङ्ग शक्तिले मान्छेमा लामो समय लगाएर प्रभाव पार्ने भए पनि भँगेरा जस्ता साना चरालाई तत्काल असर गर्ने तर्कमा सहमत हुन सकिन्छ।'
आवासीय र वृक्षका गरेर काठमाडौंमा दुई प्रकारका भँगेरा रहेको चराविज्ञ हेमसागर बराल बताउछन्। आवासीय भन्दा पनि वृक्षका भँगेराहरू पछिल्लो समयमा बढी खतरामा पर्न थालेका छन्। घरमा पाइने भँगेरामा तत्काल नयाँ परिस्थिति अनुकूल आफूलाई ढाल्न सक्ने शक्ति हुनु र वृक्षका भँगेरामा त्यो नहुनु प्रमुख कारण रहेको उनको निर्क्यौल छ।