अनगिन्ती टुक्रा पारेर
मनचिन्ते आकारहरुमा ढालेर
नाङ्लो र ढाकरहरुमा
खर्पन र पेरुङ्गोहरुमा
नभए पटुकीको भित्री गाँठोमा पोको पारेर
हिमालदेखी उँधो पठाइदिन्थेँ
तराइदेखी उँभो लगाइदिन्थेँ
मनैले मात्र के हुनेरहेछ र!
पेट भन्दा ठुलो बाध्यता जिन्दगीको अर्को नहुने रहेछ !
भोका सन्तानको आशातित अनुहारमा
म कुन दर्शनको बखान गरुँ?
बेदनाले खुम्चिएको मुटु
अलिकती हाडमासुले छोपेर
श्रम बेच्दै बालुवाको कणकणमा
प्रत्याशित भरे भोलीको चुल्हो बाल्न भौंतारीइरहेको 'म' लाई
पहिले त जाउलो चाहिन्छ
छानो चाहिन्छ
लाज ढाक्ने दुइटुक्रा बर्को चाहिन्छ ,,,,
उदाङ्गो तनले ढाकिएकोमनहरुको अभिनय गर्न नसकिने रहेछ!
झ्याङ्ग्प्वाल मजेत्रोमा छोपिने
असफल प्रयासमा जिन्दगीको कहर काट्ने
नङ्गाको बगालमा देशको कुन पाली छाउने कुरा गरुँ??
हरियो देशका सुनौला मनहरु
मरुभूमीको तातोमा क्याक्टस बाँच्नुछ
सम्झनाको जालिरुमाल
किन्ने
साट्ने
र
जिन्दगीको एक कुइनेटोमा
भरीएको पेट
अनी ढाकिएको जिउ
आफ्नै छानोमुनी लुकाएर
स्वाभिमानको बिस्तारामा लडिबुडी गर्ने
एक त्यान्द्रो सपनामा तुर्लुङ्ग झुण्डिदै
घरी उँभो सगरमाथा नियाल्नु छ
घरी सुस्केरामा तलबी सन्तोष साट्नुछ
आश्वासनले जीवनका खाँचा नटर्ने रहेछन !
पुर्खाको बाक्लो छालामा लुटुपुटिएर
हिजो खाँदै सपनाको भोली डकार्दै
आज देख्दै नदेखी
बुझ्दै नबुझी
सुन्दै नसुनी
नटिल्पिलाएका पसिना
चमरले हम्केर
अझै भन्छौ कि म निष्ठूर छु??
माटो भुलेर आफुमा केन्द्रित छु?
कि मलाई देश दुख्दैन?
कि देश हेर्ने ऐनामा म प्रतिबिम्बित हुँदिन?
हेर ! नियाल मेरा छातीका कोलाजहरु !
सुँघ मेरा ताजा पसिनाहरु!
बनिबुतोको एक एक हिस्साले रङ्गिएको मेरो रगत!!
त्यहीँ पाउनेछौ मेरो देशचिन्तन्
त्यहीँ देख्नेछौ देश दुख्ने मुटु र आफु देखिने ऐना ।।।
दीप्स शाह
No comments:
Post a Comment