Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Monday, April 25, 2011

पागल

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु ढुङ्गालाई फूल !
जब जल-किनारका जल-चिप्ला ती
कोमलाकार पाषाण
चाँदनीमा
स्वर्गको जादूगर्नी मतिर हाँस्दा
पत्रिएर नर्मिएर झल्किएर
बल्किएर उठ्दछन् मूक पागलझैं
फूल झैं एक किसिमका चकोर-फूल !
म बोल्दछु तिनसँग जस्तो बोल्दछन् ती मसँग
एक भाषा साथी !
जो लेखिन्न छापिन्न बोलिन्न
बुझाइन्न सुनाइन्न !
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छालछाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ बाचाल
तिम्रो शुद्ध गणित-सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु !
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ
म उसमा हेलेन र पद्यिनी पाउँछु
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्दन्छु
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु
र ठीक त्यसैको उल्टो !
तिम्रो संसार ठोस छ !
मेरो बाफ !
तिम्रो बाक्लो मेरो पातलो ! तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ
म भन्छु वाचाल !
जरुर साथी !
मेरो एक नशा ढीलो छ ।
यस्तै छ मेरो हाल !
म माघको ठण्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ
दुनियाँले मलाई तरतरङ्गी भने !
भस्मेश्वरबाट फर्कदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने !
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिलो छिर्का परेको देखेर
म तीन दिन रुँदा
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने !
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा
बहुला भने !
एक सुनसान औंसीले मलाई निशास भएर
म प्रलय-वेदनाले उफ्रें !
मूर्खहरुले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे !
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ
मलाई बुज्रुगहरुले
राँची पठाइदिए !
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ
एक साथीले बेसरी चिमटिदिए
र भने “ए पागल तेरो मासु अझ मरेको छैन !”
यस्ता कुरा भए साल साल !
पागल छु साथी !
यस्तै छ मेरो हाल !
मैले नवाबको मदिरालाई खून भनेको छु
छिपेकी रण्डीलाई लाश भनेको छु !
राजालाई गरीब
सिकन्दरलाई मैले गाली दिएको छु !
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई तर
सातौं आसमानसम्म
तारीफको पुलमा चढाएको छु
तिम्रा महापण्डित मेरो महामूर्ख !
तिम्रो स्वर्ग मेरो नरक !
तिम्रो सुन मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति मेरो अवनति
यस्तै छ मोलमोलाइको उलट-पलट
साथी !
तिम्रो विश्व मेरो बाल !
जरुर साथी ! म बिलकुल चन्द्राहत छु
चन्द्राहत
यस्तै छ मेरो हाल !
म अन्धालाई दुनियाँको अगुवा देख्दछु
गुफा-तपस्वीलाई भगुवा देख्दछु
मिथ्याका मात चढेकालाई
काला नटुवा देख्दछु !
विफललाई सफल देख्दछु !
प्रगतिलाई अगति देख्दछु !
या हुँला मै ऐँचाताना !
या हुँला मै दीवाना !
साथी ! मै दीवाना !
निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर !
जन-अधिकारको डँडाल्नोको भाँच हेर !
जब भँगेर-टाउके छापाको कालो मिथ्याले
मेरो विवेक-वीरलाई
जाली झुठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केको गोलझैं राता !
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ
पिउँछ कानले
र अमृत भनिठानेर
र मेरा आँखाअगाडि साथी !
तब हुन्छन् ठाडा मेरा रौं रौं
गर्गनका सर्पकेश झैं मेरा जिस्क्याइएका
रौं रौं !
जब बाघले मृग खान आँटेको देख्छु साथी !
या ठूलो माछाले सानो
तब मेरा मर्काएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर बोल्न खोज्दछ साथी !
तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा
दुवै !
जस्तो भीमसेनका दाँत !
अनि
प्रकोपको लाल-लाल आँखाका डल्ला
फनक्क घुमाएर एक डबलले म
यो अमानवको मानवजगत्लाई
एक आगोको लप्काले झैं हेर्दछु साथी !
उफ्रिन्छन् मेरा कलपुर्जा
खलत्रल खलबल !
तूफान हुन्छ मेरो सास !
विकृत हुन्छ मेरो चेहरा !
बन्दछ मेरो दिमाग साथी !
बडवानलझैं बडवानलझैं !
म वन खाने आगो झैं बहुला हुन्छु !
बहुला साथी !
काँचै निलूँ झैं विश्वविशाल !
जरुर साथी !
म सुन्दर-चकोर असुन्दर-फोर !
कोमल-क्रूर
चिडिया स्वर्गाग्नि-चोर
तूफान-पुत्र !
पागल ज्वालमुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल !
जरुर साथी !
सन्के मगज छु सन्के !
यस्तै छ मेरो हाल !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ
ठोस कठोरता तिम्रो यथार्थ छ !
म सपनालाई समात्न खोज्दछु
जस्तो तिमी त्यो चिसो मीठो अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई !
मेरो छ बजे काँढाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ
म भन्छु वाचाल !
जरुर साथी !
मेरो एक नशा ढीलो छ ।
यस्तै छ मेरो हाल !
महाकबी
लक्ष्मी प्रसाद देवकोटा
 

Tuesday, March 29, 2011

"यात्री"

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो?

हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार !
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार !
नसा-नदीका तरल तर, मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ?

मनको सुन्दर सिंहासनमा, जगदिश्वरको राज !
चेतनाको यो ज्योति हिरण्यमय, उसको शिरको ताज !
शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ।

भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिड्छौ कुन पुर?
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दुर?
खोजी गर्छौ हृदय लगाऊ, बत्ति बाली तेज प्रचुर ?

साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।

सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूका, पिडा, दु:खको गानामा
दर्शन किन्तु कहिँ दिँदैन, चर्म-चछुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री, कुन नव-देश बिरानामा?

फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।।

लक्ष्मी प्रसाद देवकोटा

घुम्ने मेचमाथि अन्धो मान्छे

दिनभरि
सुकेको बाँसझै
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझै
आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर,
घाउहरु कोटयाएर;
दिनभरि
सल्लाघारीझै एकलासमा
अव्यक्त वेदनाले सुँक्क-सुँक्क रोएर;
दिनभरि
पाते च्याउझैं
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफुलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँ सडक - असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,
टुक्रिएर,
अखबार, चिया र पानको पसल बन्छ,
किसिम-किसिमका पोशाकमा
ओहोर-दोहोर गर्छन् थरीथरीका हल्लाहरु
फुल पारेको कुखुराझै कराउँदै
हिंड्छन् अखबारहरु
र ठाउँ-ठाउँमा अन्धाकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तर्सेर
अनि असंख्य मौरीको भुन्भुन् र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैं
र नपाएर बिस्मृतिको 'लेथे' नदी
रक्सीको गिलासमा हाम्फाल्छु
र बिर्सन्छु आफ्नो पूर्व कथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधै
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ,
सधै रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी - पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि,
दृश्यहरुदेखि,
रमाइलोदेखि,
प्रर्दशनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै ।
भूपी शेरचन
 

Sunday, March 20, 2011

मान्छे

जे बोल्छ त्यो गर्दैन 
जे गर्छ त्यो बोल्दैन 

क्षणभङ्गुर हुन्छ फूलको याम 
भन्ने जाँदाजान्दै पनि 
मान्छे फूलै ओढेर निदाउन चाहन्छ 
यहाँ कोही छ काँढालाई सहर्ष चुम्बन गर्ने? 
व्यबहारिक जीवनमा ओठ 
तन्काउनसम्म नजान्ने/नसक्ने 'हंसमुख'
दर्शनमा खित्का छोड्छ 
कुरुपदर्शनको "अभाङ्गार्ड" 
सुटुक्क लुकेर 
सुरासुन्दरीको तस्बिरमा च्वाँक्क म्वाइ खान्छ 
यहाँ कोही छ चपाइएका अनुहारमा सहृदय चुम्बन गर्ने?

मान्छेले नजानेको के होला! 
थाहा छ, विश्वाशको अर्को किनारा हुँदैन 
भरोसाको पुल बदली हुँदैन 
जीवनको सिमसारमा हरदम संकित मान्छे 
बारबार सत्यबिदुषको सपथ लिन्छ 
यहाँ कोही छ आत्माको आवाज पच्छ्याउँदै 
ढुक्ढुकिको निष्कपट चालमा नाच्ने? 
सफलताको सिँढिबाट हरबार गुल्टिएपछी 
जीतको दौडमा सयबाजी हारेपछी 
पराजित आत्मा बिक्षिप्त भै चिच्याउँछ 
चोकमा निस्केर घोषणा गर्छ 
"मलाई जित्नु छैन!!" 
यहाँ कोही छ सत्य स्विकारोक्तिमा 
आत्माको इमान्दारिता ब्यक्तिँदै 
पराजयको अनुभूती सविस्तार बोल्ने? 

हंसिलो तस्बिरमा बर्षिने चुम्बनले 
ओइलाएको हृदय स्पर्श गर्ला!!?
आँखाको दृष्यरसबै वासन्ती हुन्नन् 
तैपनी मान्छे 
आधा डढेको कुरुप 'कोइला जिन्दगीको'दुहाइ दिँदै 
लुकिलुकी कोपिलाको रङ्ग 
चोर्ने दुस्साहस गरिरहन्छ
मान्छे
कुरुप दर्शनको वकालतमा जिन्दगी लतार्दै 
सुरुप अनुहारहरुको उपासना गरिरहन्छ 
भुलभुलैयाको सागरमा यतै कतै 
सत्य बोल्छ ,,झुट ओकल्छ 
रहस्यको आकाशगंगामा रहस्यै भएर 
टिल्पिल टिल्पिल गर्छ 
जे बोल्छ त्यो गर्दैन 
जे गर्छ त्यो बोल्दैन
जिन्दगीको रङमञ्चमा यस्तै यस्तै गरिरहन्छ 
मान्छे ,,,।।।

दीप्स शाह
 

Thursday, March 17, 2011

**देश दुख्ने मुटु**

मिल्नेभए  यो अढाइसय ग्रामको मुटु
अनगिन्ती  टुक्रा पारेर
मनचिन्ते आकारहरुमा ढालेर 
नाङ्लो र  ढाकरहरुमा
  खर्पन र पेरुङ्गोहरुमा
नभए पटुकीको भित्री गाँठोमा पोको पारेर
हिमालदेखी उँधो  पठाइदिन्थेँ
तराइदेखी उँभो लगाइदिन्थेँ
मनैले मात्र के हुनेरहेछ र!
पेट भन्दा ठुलो बाध्यता जिन्दगीको अर्को नहुने रहेछ !

भोका सन्तानको आशातित अनुहारमा
म कुन दर्शनको बखान गरुँ?
बेदनाले खुम्चिएको मुटु
अलिकती हाडमासुले छोपेर
श्रम बेच्दै बालुवाको कणकणमा
प्रत्याशित भरे भोलीको चुल्हो बाल्न भौंतारीइरहेको 'म' लाई
पहिले त जाउलो चाहिन्छ
छानो चाहिन्छ
लाज ढाक्ने दुइटुक्रा बर्को चाहिन्छ ,,,,
उदाङ्गो तनले ढाकिएकोमनहरुको अभिनय गर्न नसकिने रहेछ!

झ्याङ्ग्प्वाल मजेत्रोमा छोपिने
असफल प्रयासमा जिन्दगीको कहर काट्ने
नङ्गाको बगालमा देशको कुन पाली छाउने कुरा गरुँ??  
हरियो देशका सुनौला मनहरु
मरुभूमीको तातोमा क्याक्टस बाँच्नुछ
सम्झनाको जालिरुमाल
किन्ने
साट्ने
 जिन्दगीको एक कुइनेटोमा
भरीएको  पेट 
अनी ढाकिएको जिउ
आफ्नै छानोमुनी लुकाएर
स्वाभिमानको बिस्तारामा लडिबुडी गर्ने
एक त्यान्द्रो सपनामा तुर्लुङ्ग झुण्डिदै
घरी उँभो सगरमाथा नियाल्नु छ
घरी सुस्केरामा तलबी सन्तोष साट्नुछ
आश्वासनले जीवनका खाँचा नटर्ने रहेछन !

पुर्खाको बाक्लो छालामा लुटुपुटिएर
हिजो खाँदै सपनाको भोली डकार्दै
आज देख्दै नदेखी
बुझ्दै नबुझी
सुन्दै नसुनी
नटिल्पिलाएका  पसिना
चमरले हम्केर
अझै भन्छौ कि म निष्ठूर छु??
माटो भुलेर  आफुमा केन्द्रित  छु?
कि मलाई देश दुख्दैन?
कि देश हेर्ने ऐनामा म प्रतिबिम्बित हुँदिन?
हेर ! नियाल मेरा छातीका कोलाजहरु !
सुँघ मेरा ताजा पसिनाहरु!
बनिबुतोको एक एक हिस्साले रङ्गिएको मेरो रगत!!
त्यहीँ पाउनेछौ मेरो देशचिन्तन्
त्यहीँ देख्नेछौ देश दुख्ने मुटु र आफु देखिने ऐना   ।।।
दीप्स शाह

Wednesday, March 16, 2011

"मन को व्यथा"

तिमीलाई    चाहने    हजार    होलान
अनि मलाई किन पो चाहन्थ्यौ  र ?
सबै तिम्रा रुपका प्यासी हुन
चोखो माया तिमीले किन पो चाहन्थ्यौ र ?
लत्यायौ मेरो चोखो माया हसायौ सारा दुनियालाई
मलाई तिरष्कार गरि  दोषी बनाएर |
दुइ शब्द मायाको केहि मिठो बोलि दिदा
भएन  तिमीलाई बोल्यौ सबै लुकाएर |
जानुनै थियो भने  तिमीलाई, किन पो  झुटो
 बोल्नु पर्थ्यो  र कमलो मनै दुखाएर
म त तिमीलाई नै माया गर्छु भन्दा
मुटु चिर्ने गाली दियौ
यी दुइ आँखामा आसु देख्दा
खुसीले दुनिया हसाउने ताली दियौ .................   
  -नवराज श्रेष्ठ